Clues & Flu of Human Civilization
मानव सभ्यताको Clues & Flu
विष्णु पनेरु
साढेँ चार अरव वर्ष अघि पृथ्वीको उत्पत्ती पश्चात मानव जाति यस धर्तीमा आउन धेरै लामो समय लाग्यो । ६० लाख वर्ष अघि पुच्छर नभएको एउटा बाँदर प्रजातिको आमाले दुई दिदी बहिनीको जन्म दिइन् । जसमध्ये एक जना अहिलेका चिम्पान्जीहरुकी हजुरआमा हुन् भने अर्की, जो तीक्ष्ण बुद्धी भएकी थिइन् , ती मानव जातिकी हजुरआमा हुन् । ती तिक्ष्ण बुद्धी भएकी हजुरआमाको विशिष्ट आनुवांशिक गुण, जनावर र मानिस बीचको लक्ष्मण रेखा कोर्न सफल भयो । त्यसैले हामीहरुका सबभन्दा नजिकका नातेदार चिम्पन्जी हुन् भने अलिक टाढाका गोरिल्ला र ओराङओटन हुन् ।
२५ लाख वर्ष पहिले मानव जातकिो उत्पत्ती अस्ट्रेलोपिथेकस जाति, जुन ६० लाख वर्ष पहिले उत्पत्ती भएको हजुरआमाका सन्तानबाट पूर्वी अफ्रिकामा भएको हो ।
२० लाख वर्ष पहिले तीनै मानव मध्ये केही आफ्नो थात/थलो छोडेर उत्तर अफ्रिका, युरोप र एशियामा बसाइ सरे । जहाँ उनीहरुले युरोपको बर्फिलो युगको अति जाडो र इन्डोनेसियाको घना जंगल र अति गर्मी हावापानीसँग समायोजन गर्न भिन्न गुणको बिकास गर्नु जरुरी थियो । जसको कारण विभिन्न मानव प्रजातिको बिकास हुन पुग्यो । युरोप र एशियाका मानवहरु होमो नियाण्डरथल(नियाण्डर उपत्यकाका मानिसहरु, ५ लाख वर्ष पहिले)को रुपमा बिकास भए भने पूर्वी एशियाका अलिक भिन्न मानिसहरु होमो इरेक्टस्को रुपमा विकास भए । त्यसैगरी जाभा प्रायदिपको शितोष्ण हावा पानीमा समायोजित मानव प्रजाति होमो सोलेन्सिसको रुपमा विकसित भए । सन २०१० मा साइबेरियाको डेनिसोभा गुफामा भेटिएको नयाँ प्रजातकिो मानव अस्थीलाई होमो डेनिसोभा नाम दिइएको छ । हाम्रा कयौँ अन्य थाहा नभएका नातेदारहरुको खोजी हुनै बाँकी छ । जे भएता पनि हामी अफ्रिकामा २५ लाख वर्ष पहिले उत्पत्ती भएका मानव जातिकै सन्तान हौँ ।
हाम्रा यी नातेदार मध्ये को ठूला थिए भने कोही पुड्का थिए । सबभन्दा होचा मानव होमो फ्लोरोसियन्सिस १ मिटर अग्ला र २५ के जी तौलका थिए ।
ती मध्ये कोही सिकार गर्थे भने कोही वनस्पति संकलन गर्थे । कोही घुमन्ते
थिए भने कोही एउटै टापुमा जीवन बिताउँथे । अफ्रिका, युरोप, एशिया र अन्य भागमा मानव प्रजातको धुमधाम विकास भइरहेको थियो । ती मध्ये होमो रुडोल्फनसिस, लेक रुडोल्फका मानिसहरु, होमो एरगास्टर, काम गर्ने मानिस र त्यसै गरी हाम्रो मानव प्रजाति होमो सेपियन्स, बुद्धिमान मानिसको प्रजातकिो रुपमा बिकसित भए ।
लाखौँ वर्षसम्म ठूला जनावरहरुसँग जोगिँदै साना जनावरहरुको सिकार गर्ने मानव जाति खाद्य श्रृंखलाको मध्यम स्थानमा थियो । ४ लाख वर्ष पहिले केही मानव प्रजातिले ठूला जनावरहरुको शिकार गदै पछिल्लो १ लाख पर्ष पहिले होमो सेपियन्सको उदय पश्चात खाद्य श्रृंखलाको सबभन्दा माथिल्लो भागमा पुग्न सफल भए ।
हामी अहिलेका मानिसहरुका पुर्खाहरु होमो सेपियन्स २ लाख वर्ष पहिले पूर्वी अफ्रिकामा बिकसित भएका हुन् । ७० हजार वर्ष पहिले उनीहरुमा बौद्धिक क्रान्ति (Cognitive Revolution), जसको कारणले उनीहरुमा अन्य मानव प्रजातिभन्दा भाषिक बुद्धिमत्ता बढि, सोच्न सक्ने क्षमता, संस्कृतिको विकास गर्ने, काल्पनिक कथाहरु सृजना गर्ने जस्ता सीपहरुको विकास भयो । संस्कृतिको विकासलाई नै मानव समाजमा इतिहास भन्न थालियो ।
७० हजार वर्ष पहिले सेपियन्स पूर्वी अफ्रिकाबाट मध्यपूर्व पुगे । युरोपमा त्यतबिेला होमो नियाण्डरथलको दवदवा थियो । नियाण्डरथल उचाइमा अलिक अग्ला थिए र १५ जना सम्मको समूहमा बस्थे तर होमो स्यापियन्स १५० सम्मको समूहमा बस्थे । खाना र बासस्थानको लागि भएको प्रतिस्पर्धामा नियाण्डरथल प्रतिकूल वासस्थानमा धकेलिँदै गए र अन्तमा ३० हजार वर्ष पहिले उनीहरु यस धर्तीबाट सदाको लागि लोप भए । १३,००० वर्ष पहिले फ्लोर टापु, इन्डोनेशियाबाट होमो फ्लोरोसियन्सिस लोप भए पश्चात अहिलेको मानव प्रजाति मात्र यस धर्तीमा राज गर्ने एकल प्रजाति भएका छन् ।
४५ हजार वर्ष पहिले सेपियन्सहरु अफ्रो एशियाको बिशाल भूमी पार गरी अष्ट्रेलिया पुग्नु, कोलम्बस अमेरिका पुग्नु र नील आर्मस्ट्रङ चन्द्रमा पुग्नु जस्तै थियो । उनीहरु अस्ट्रेलिया पुगेपछि त्यहाँ भएका ठूला जनावरहरुको शिकार गर्न थाले, जसको कारण भिमकाय जनावरहरु अस्ट्रेलियाबाट लोप भए । उनीहरु साइवेरिया र अलास्कामा पाइने स्वादिष्ट शिकारको लोभमा जनावरका छालाका जुत्ता र लुगा लगाई वरफमा हजारौं वर्षदेखि जीवन बिताउँदै आइरहेका छन् । त्यसै गरी मरुभूमी, घना शितोष्ण जंगल, नीर्झन टापु जताततै आफूलाई अनुकुलन गरी आºनो अस्तित्व जोगाउन सफल भए ।
त्यसैगरी १५ हजार वर्ष पहिले होमो सेपियन्स अमेरिका पुग्दा त्यहाँका ठूला जनावरहरु लोप भए । मानवहरुको १,२०० देखि १,४०० क्युविक सेन्टिमिटरको अन्य जनावरको तुलनामा धेरै ठूलो दिमाग र दुई खुट्टाले हिँड्न सक्ने क्षमताको कारण दुई हातको प्रयोग गरी आफू भन्दा ठूला जनावरहरुलाई भगाउन वा जित्न सक्षम भए । ३ लाख वर्ष अघि आगोको आविष्कार गर्न सक्नु मानवको लागि अर्काे ठूलो उल्लेख्य उपलब्धि थियो । खाना पकाएर खाँदा खाना छिटो पच्न सक्ने हुँदा आन्द्रा छोटो हुँदै गयो भने, समय बचत हुँदा अन्य काम गर्न सक्षम भए । यही ठूलो दिमागको कारणले पाएको अदभूत क्षमताको प्रयोग गरी रोबोट, रकेट र सूचना प्रविधिको बिकास गर्न मानव सक्षम भएको हो । होमो सेपियन्सको अर्को विशेषता भनेको अस्तित्वमा नभएका भावात्मक कुराहरुमा विश्वास गर्नु । संस्कृति र परम्परा प्रतिको लगाव, पौराणिक कथाहरु, राजनीतिक पार्टीहरु, गुगल, टाटा जस्ता कर्पोरेसनहरु प्रतिको मानिसको अदभूत विश्वास अनि कल्पनाशीलता मानिसका विशेषताहरु हुन् । फलस्वरुप वैज्ञानिक र इतिहासकारहरुको आँकलन अनुसार अबको १ हजार वर्षमा पृथ्वीको आयु सकिने हुँदा पृथ्वीको सबभन्दा नजिकको ग्रहमा २५० वर्ष अन्तरिक्षमा यात्रा गरी पुग्ने क्याप्सुल निर्माण गर्न मानव जातिले पहल गर्नेछ गर्नेछ जुन ३.८ अरव पुरानो पृथ्वीको जैविक इतिहासको एउटा चमत्कारीक घटना हुनेछ ।
मनव बिकाशको इतिहासमा भएका तीनवटा ठूला क्रान्तिहरु – पहिलो ७० हजार वर्ष पहिले भएको बौद्धिक क्रान्ति (Cognitive Revolution), दोस्रो १३ हजार वर्ष पहिले भएको कृषि क्रान्ति (Agricultural
Revolution) र तेस्रो ५०० वर्ष पहिले भएको औद्योगिक क्रान्ति (Industralial
Revolution) । पहिलो क्रान्तिले मानवलाई जनावर भन्दा भिन्न प्राणीको रुपमा स्थापित गर्यो भने, दोस्रो क्रान्तिले शिकार गर्ने र खाना खोज्ने प्रवृत्तिबाट पशुपालन र खेतिपातीतिर आकर्षित गर्यो । तेस्रो क्रान्तिले मेसिनहरुको विकास गरी उपभोग्य वस्तुहरु उत्पादन गर्न सक्षम गरायो ।
औद्योगिक क्रान्तिपछि उद्योगहरुले प्रयोग गर्ने कोइला, यातायात साधन र घरायसी प्रयोजनमा प्रयोग हुने पेट्रोलियम ग्यास र अन्य औद्योगिक प्रदुषणको कारण जलवायु परिवर्तन भइरहेको छ । जसका कारण उत्पन्न भएका नयाँ जीवाणुहरुले एकातिर मानव जातिलाई चुनौतीहरु दिइरहेका छन् भने अर्कातिर आणवीक युद्घको तरबार हाम्रो सभ्यता माथि झुण्डिरहेको छ । मानिसको मेसिन र प्रविधि माथिको निर्भरता अझ बढ्न गई कृतिम बौद्धिकता (Artificial Intelligence) को तीव्र विकासले कम्प्युटर प्रणाली फेल हुन सक्ने छ । फलत भविष्यमा कुनै पनि बेला सारा संसार ठप्प हुन सक्ने प्रवल सम्भावना छ ।
आगामी दिनहरुमा साना व्यवसायीको अस्तित्व लोप भइ राजनीति र व्यवसायमा कर्पोरेसनहरुको वर्चश्व हुने देखिन्छ, जसको संकेत ठूला डिपार्टमेन्ट स्टोरहरुमा लागेको मनिसहरुको घुईंचोले दिन्छ । बीसौँ शताब्दी काम गर्ने वर्गको शताब्दी थियो । एक्काइसौँ शताब्दीमा मानिसको काम मेसिनले लिने हुँदा ठूलो जनशक्तिको लागि नयाँ कामको अवसर प्राप्त हुनेछ भने केहीको लागि काम नहुन पनि सक्छ । यो चुनौतीसँग लड्न पनि मानव समुदाय तम्तयार हुनु जरुरी छ ।
२५ लाख वर्ष पहिले पूर्वी अफ्रिकामा पहिलो पल्ट मानव जातिको उदय भएर अहिलेसम्म आइपुग्दा इतिहासमा मानव जातिले धेरै ठूला युद्घहरु लडे । ७० हजार र १५ हजार वर्ष पहिलेको बर्फिलो युग (Ice Age), जतिबेला सारा संसार हिउँले ढाकिएको थियो र अन्य कयौँ प्राकृतिक विपत्तिहरुको उनीहरुले सामना गरे । प्लेग, औलो, क्षयरोग, विफर, एड्स, सार्स, इबोला, वर्ड फ्लु , डेङ्ग्यु जस्ता जीवाणुहरुद्वारा संक्रमण हुने रोगहरु बिरुद्घ लड्दै आज कोरोना भाइरससँग सम्पूर्ण मानव जाति एक भएर लडिरहेको छ ।
हाल पृथ्वीको तापक्रम बढ्न गई सिर्जित नयाँ रोगहरुसँग लड्न र मेसिनसँगको परनिर्भरताका कारण सिर्जितहुन सक्ने समस्याहरुको समाधान गर्न आज मानव समूदायले आफ्नो खानपान र आनिबानी परिवर्तन गर्दै विज्ञान र प्रविधिको उच्च विकास भएको यस युगमा हामी गर्न सक्छौँ भन्ने भावबाट प्रेरित भइ अघि बढ्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।
समाप्त
Reference
Harari,
Y. N. (2015). Sapiens A Brief History of Humankind. Penguin Random House, UK.
Comments
Post a Comment